Aakar

Aakar

Link to Aakar Post

परिवर्तनका लागि हामी नेपाली एक #NepalUnites [STORY]

Posted: 18 May 2011 06:55 PM PDT


एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु,   सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो ।

उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न पो लग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो। उ धेरै बेर चिच्यायो करायो, पछी धेरै बेरको आवेगले थाकेछ क्यारे र सुन्ने कोहि नभेटेर ठेस पनि लागेछ कि कुन्नि, ठिक त्यै गल्लि अगाडीको ठुलो भित्तो आगाडी धुलाम्मे सडकमा भत्र्याक्क घुंडा टेकेर बस्यो अनि भक्कानेर रुन थाल्यो, ठुल्ठुलो आवाजले, मानौ उसको परिवारमा ठुलै शोक परे जस्तो।youth

उसको रिस र आवेग आँसु बनेर पग्लीयो। रुंदा एकै तरहले  'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै गाली गर्थ्यो, तथानाम गाली गर्थ्यो नेपालीमा र अंग्रेजीमा पनि के-के भन्थ्यो-भन्थ्यो, छाती पिटी पिट घुँक्क घुँक्क गर्दै रुन्थ्यो र भन्थ्यो ''मलाई चिनिनस...मलाई चिनिनस.. तँ मलाई चिन्दैनस.. तेरीमा फटाहा साला'। धेरै बेर त्यो रोयो अनि पछी त्यो शान्त भयो, संगसंगै कुकुरका भुकाईहरु पनि मत्थर हुँदै गए। डरलाग्दो कोलाहल फेरी डरलाग्दो सन्नाटा बन्यो। त्यसपछी  उ बिस्तारै आफुलाई सम्हाल्दै उठ्यो, उदेक मानेर, आफ्नो असफल र नाथे आवेगहरु सेलायेपछी, फेरी उतै ठुला भित्ताहरुको बीचको अंध्यारो गल्लि तिर लज्जित हुन सोझियो, रुझेको बिरालो जस्तै तर धुलै-धुलो भएर।

मलाई पनि नमज्जा लाग्यो। उ बिस्तारै बिस्तारै मन नलागी नलागी, निरास भएर घोप्टो सिर र आमिलो मन लिएर फर्कन लाग्दा किन-किन त्योसंग मेरो खुबै लगाव छकी जस्तो महसुस भयो। उसलाई हेर्दा हेर्दै मलाई आफैसंग यो घटना घटेको हो कि भन्ने अनुभूति भएछ क्यारे मेरो पनि मन उसको भन्दा कम अमिलो भएन। फरक यत्ति थियो म त्यो ठिक आगाडीको भित्तो माथिबाट उसको हबिगत नियाल्दै थें र हाललाई म त्यो गल्लिमा जानु पर्ने थिएन। मैले पनि क्रुद्ध कण्ठ लिएर भित्तोबाट देशको माटो गन्ध नआउने, इस्पाती हृदयको जालिम किनारामा झर्ने विचार गरे, जुन यथार्थ पनि थियो।

म झर्नै मात्र के लागेको थिए उताबाट फेरी आवाज सुने। उसलाई त भित्रै बाट फेरी जुरुक जुरुक भएछ क्यारे,'....पख् तँलाई !!...तैले आज मलाई नचिन्ने होइन...' भन्दै गल्लिको मुखबाट फरक्क म चढेको भित्तो तिर फर्केर कुर्लिन पो थाल्यो। 'यो देश तिमीहरुको बाउको पेवा हो?' 'के तिमीहरु र तिमीहरुको सन्तान मात्र पाल्ने ठेक्का लिएकि छिन् नेपाल आमाले? के सोचेर हामीलाई यो अपमन गरेको? हामीले बलिदान दिएर कोरेको हो हाम्रो भविष्य बुझिस् र त्यो हामीलाई प्यारो छ, आज हामीले भोक काटेर दिएको रोटि खाएर हाम्रै कोखमा छुरी रोप्न खोज्ने? को होस् तँ, को हौ तिमीहरु? हिजो मेरो खुट्टा ढोगेर भर्र्यांग चढेको होइनस्? के सोचेको छस? यो सहरमा मरेका लासहरु भौतरिन्छन् हरेक दिन? यो सयौ फूलका थुंगा चिहान जस्तै चिसो र अनुत्तरित  छ? तेरो आराजक मानसिकताको दास भै रहन्छु जस्तो लागेको छ तँलाई? मेरो विवसतामा अट्टहास गर्ने स्वतन्त्रता कस्ले दियो तिमीहरुलाई? उदेक लाग्छ तेरो दारिद्रता देखेर तर म थाकेको छैन। हो, धोकै धोकाले आजित अवस्य भएको छु तर मैले हरेस खाएको छैन। म नयाँ पुस्ता को अवस्य हुँ तर मेरो मन पनि नेपाली नै हो। याद राख गोर्खालीको रगतमा सालिनता र कठोरता दुवै हुन्छ। के मधेश के हिमाल फिलिंगो उड्यो भने तेरो सर्वनाश निश्चित छ। आजै सहि बाटोमा लाग् नत्र प्रलय आउन कोसैले रोक्न सक्दैन।

यतिबेला सम्म उसमा सम्यमता आइसकेको थियो। त्यो आवेगमा रोएको केटो सालिन, गम्भीर, जिम्मेबार त भयो नै संगसंगै भयाभव पनि भयो। उसले भन्यो,"पहिला मेरो संबिधान ले तेस्पछी तेरो भाग्य लेख्न हामी सोचौला - ज्याला लिई सकिस् अब संबिधान दे" ! सुन्य बाटोमा कतै कुकुरहरु भुकेका थिएनन्। एकाध कुकुरहरु भुके पनि हात्तीको आफ्नै गति हुन्छ। मेरो मुटु ढक्क फुलेर आयो मानौ मैले पनि आफ्नो अधिकार पाए जस्तो। गर्वले शिर ठाडो भयो र त्यो गल्लिमा उज्यालो  छाउँछ कि भन्ने आशा पनि। अनि त अचम्मै भो !! त्यो भित्तोमा एक दुई गर्दै नाराहरु आफसे आफ लेखिन थाले ! मेरा छेउ छाउमा पनि लाम लागेर गाउँलेहरु 'हो.. हो..' भन्दै तल नियालि रहेका पो रहेछन् ! एक दुई गर्दै धुलाम्मे बाटाहरु कलिला तर फुर्तिला जमातले भरिन थाले !

अंध्यारो नेपथ्यबाट एउटा कुर्लियो "ढोंगी", अर्को पनि "साला अकबेरे डरछेरुआ जमात" ! हात्तीले कस्को सुन्छ र, कुकर भुकेर हात्तिलाई के नै असर गर्छ र, उ त आफ्नै गतिमा हिँडी रहन्छ । 'हो...हो'..'चाहियो ...चाहियो'..सडक रनक्क तत्तियो.. म नारा लेख्दै रहेँ र अरु ४५००+ ले पनि ! समूह बढ्दै छ, उनीहरु नारा लगाइरहेकाछन् ।

भविष्य कोर्ने आफैँले हो !

अहिले नगरे कहिले ? हामीले नगरे कसले ?

 

-- गुन्जन खनाल

'डेनमार्क'

Bulbul : Episode - 90

Posted: 18 May 2011 05:29 PM PDT


Listen to Bulbul Episode-90

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Bulbul is a Radio Program (a gajal program).

Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download Bulbul : Episode-90

This posting includes an audio/video/photo media file: Download Now

अहिलेसम्म ‘फेसबुक’ मा ‘डिसलाईक’ बटन छैन है ! #FacebookScam #Dislike

Posted: 18 May 2011 12:20 AM PDT


फेसबुक मा 'डिसलाईक' बटन 'इनेबल' गर्नुस् अर्थात "Enable Dislike Button"  भन्ने म्यासेज 'वाल'हरुमा फैलिरहेको छ ।

फेसबुक चलाउँदा, कसैलाई 'डिसलाइक' गरिदिउँ झैँ लाग्दो हो, कसैको स्टाटस, लिङक, फोटो वा भिडियो मा डिसलाइक गर्न पाए हुन्थ्यो भन्ने लाग्दो हो ।

तर 'डिसलाइक बटन' भन्ने बित्तिकै 'क्लिक' नगर्नुहोला, किनकी अहिले सम्म फेसबुकमा 'डिसलाइक' बटन आएको छैन है ।

सेक्युरिटि एक्सपर्ट 'सोफोज' ब्लग ले 'डिसलाइक बटन' को म्यासेज फेसबुक मा तिव्र रुपमा फैलिरहेको जनाएको छ ।

सोफोज का अनुसार निम्नानुसार को म्यासेज फेसबुक मा फैलिरहेको छ ।

Facebook now has a dislike button! Click 'Enable Dislike Button' to turn on the new feature!

fb-dislike-button

फेसबुक मा 'डिसलाईक' बटन 'क्लिके' पछि, तपाई अर्को पेज मा पुग्नुहुन्छ तर त्यतिबेला सम्म तपाईका दर्जनौँ साथीहरु को 'वाल' मा अटोमेटिक रुपमा उक्त म्यासेज 'पोष्ट' हुन्छ । 'वाल' मा 'म्यासेज' पोष्ट हुनु को साथै, एकाउन्ट ह्याक हुने, भाइरस लाग्न सक्ने सम्भावना पनि रहन्छ भनेर, सोफोज ले जनाएको छ ।

dislike-button-address-bar

याद गरिराख्नुस् अहिले सम्म फेसबुक ले, आधिकारिक रुपमा 'डिसलाइक बटन' बनाएको छैन । तर 'लाइक' सँगै 'डिसलाइक' को माग पनि बढिरहेको कुरालाई मध्यनजर गर्दै, 'स्पामर'हरुले फेसबुकमा यस किसिम का म्यासेजहरु फैलाइरहेकाछन् । हाम्रो सुझाव भनेको त्यस्ता शंकास्पद लिंकहरु हत्तपत्त क्लिक नगर्नुहोला, अन्यथा उनीहरुको शिकार तपाई पनि बन्न सक्नुहुन्छ ।

समाचार तथा फोटो स्रोत : सोफोज

उपन्यासजस्तो एउटा जीवन ‘सिक्लेसको ठिटो’ #SikleskoThito [Review]

Posted: 17 May 2011 09:59 PM PDT


कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा 'सिक्लेसको ठिटो' शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग 'सिक्लेसको ठिटो' का पात्र हुन् । जसको जीवनी 'फ्यासब्याकमा' पुस्तकमा अघि बढ्छ ।

मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक 'अ ब्वाय फ्रम सिक्लेस' को नेपाली अनुवादको रुपमा 'सिक्लेसको ठिटो' आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहादुर श्रेष्ठले त उनको त्यस कामलाई लोर्कापण समारोहमै मुक्तकण्ठले प्रशंशा पनि गरे । भने, 'धन्य हुन् मञ्जुश्री र दीपक ।' अर्का संरक्षणविद् जगमान गुरुङ्ले त यस पुस्तकमार्फत मञ्जुश्री  र दीपकले चन्द्रसँगै आफ्नो परिचय पनि दिन सफल भएको बताए ।

पुस्तकलाई उनै डा तीर्थबहादुर श्रेष्ठ र डा जगमान गुरुङले संयुक्त रुपमा लोकार्पण गरेका थिए । आयोजित लोर्कापण कार्यक्रममा बोल्दै चन्द्र गुरुङकै गाउँ सिक्लेसका स्थानियबासी समेत रहेका जगमानले यस पुस्तकले नेपाली साहित्यमा एउटा गाथा थपेको बताए । 'यो गैरआख्यान भएता पनि साहित्य र प्राविधिक दुवै बिषयको समिश्रणले उत्कृष्ट भएको छ', उनले भने, 'चन्द्र गुरुङको जीवनसँगैसँगै पाठकले नेपालको ग्रामिण बिकासका चुनौती र सफलताका कथाहरु नजिकबाट जान्न सक्नेछ ।'

घुम्सा दुर्घटनाको स्मरण पुस्तक लोकार्पणको समयमा दुवै अतिथि वक्तहरुले गरे । नेपालको माटोलाई नजिकबाट चिनेका निकै कम व्यक्तिहरुमध्येका एक चन्द्र गुरुङ पनि हुन् भन्दै डा जयमानले उनलाई 'द म्यान अफ दि फिल्ड' को सङ्ग्या दिए । भने, 'नेपालको संरक्षण क्षेत्रमा हर्क गुरुङको सिर्जनशील दिमाग र चन्द्र गुरुङको सीप निकै मिसिएको छ ।' त्यसैले पनि यस पुस्तक ग्रामीण भेगका गाउँदेखि नीति निर्माण हुने सिंहदरवारसम्म सबैका लागि राम्रो सन्दर्भ सामग्री हुने उनको तर्क थियो ।

तीर्थमान श्रेष्ठले 'सिक्लेसको ठिटो' नेपालका आरक्ष, वन्यजन्तु निकुञ्जहरुदेखि लिएर राजारानीको शिकारका कुरासम्मको उल्लेख भएकाले यो प्रकृति संरक्षणको इतिहास झल्काउने अभिलेख भएको बताए । नेपालको संरक्षण अभियानमा स्थानिय जनताको मन जित्नैपर्ने चन्द्र गुरुङको धारणा आजका दिनमा झनै बढि सान्दर्भीक हुँदै गइराखेको उनको विचार थियो । 'यसमा चन्द्र गुरुङको व्यावसायिक जीवनका अनेकौं हर्ष र विस्मात समेटिएका छन्', उनको भनाई छ, 'त्यसैले यो जीवनी नै भएता पनि पढ्दैजाँदा उपन्यासजस्तो लाग्छ ।' तीर्थमानले पुस्तकको अनुवाद उत्कृष्ठ रहेको बताउँदै यसले यसको अंग्रेजी अनुवाद नै नभएको झल्को दिने बताए ।

अनुवादक अधिकारीले भने चन्द्र  जीवित छँदा कहिल्यै भेट्ने अवसर नपाएता पनि पछि उनकै जीवनी अनुवाद गर्न पाउँदा निकै गर्व लागेको बताए । 'आम नागरिकजस्तै चन्द्र गुरुङका समेत जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरु पुस्तकमा झल्किएका छन्', उनी भन्छन्, 'तर पनि मान्छे महान सकारात्मक र नकारात्मक दुवै कुराको मिश्रणबाट बन्छ भन्ने कुरा यो पुस्तकले बताउँछ ।' १ बर्ष लगाएर सकिएको पुस्तकलाई अनुवाद भन्दा पनि भावानुवादको रुपमा आफूले काम गरेको अधिकारीले बताए ।

१८४ पृष्ठको पुस्तकमा विभिन्न १८ सन्दर्भहरु छन् जसले उनको व्यक्तिगत जीवन, कार्यशैली र घुन्सा दुर्घटनासम्मका धेरै कुरा बताउँछन् । एउटा प्राविधिक क्षेत्रका व्यक्तिको काम; साहित्यकार वा राजनेताको जसरी जीवनीमा उतार्न सजिलो छैन । तर मञ्जुश्रीको क्षमता यहाँ अझ राम्ररी उजागर भएको छ । उनले चन्द्र गुरुङको जीवनीलाई एउटा रोचक उपन्यासभन्दा कमको बनाएकी छैनन् । किताब पढ्दैजाँदा पाठकले नेपालको वास्तविक प्राकृतिक अवस्थाको झल्को त पाउँछ नै, समस्या कहाँनेर छ भन्ने पनि उसैगरी थाह पाउँछ । किताबको शुरुवात चन्द्रको मात्र नभएर पृथ्वीको भौगोलिक विकासक्रमसँगै शुरु गरिनु यसको महत्वपूर्ण पक्ष हो । यस्ता प्राविधिक बिषयमा अंग्रेजीमा लेख्नु जति सहज छ नेपालीमा त्यो उत्तिकै जटिल काम पनि हो । तर अनुवादकले यस मामिलामा पनि आफूलाई सफल तुल्याएका छन  । ति शब्दका नेपाली अनुवाद, कोष्टकमा केही थप अर्थ दिने वाक्यकहरु र आम रुपमा प्रचलित शब्दहरुको मिश्रणले त्यो उत्कृष्ठ भएको छ । सायद अधिकारीको अखबारी लेखनको प्रभाव यहाँ झल्किएको हो । पुस्तकले लेकमा बस्ने मगर÷गुरुङ समुदायको सामाजिक चेतना र बिकासक्रमलाई पनि रोचक रुपमा उजागर गरेको छ । चन्द्र स्वयं त्यसका उदहारण हुन् । उनका कतिपय साथीहरु अहिले पनि त्यही भेँडागोठाला गर्छन् भने चन्द्र विश्वव्यापी नागरिक बनिसकेका थिए । नेपालको कर्मचारीतन्त्र, चाकरी, नातावाद, कृपावादको कारण पनि पछाडि परेको हो भन्ने उनको जीवनबाटै झल्किन्छ । चन्द्रको व्यक्तिगत जीवन अर्को रोचक पाटो हो जसलाई सकारात्मक वा नकारात्मक केही नभनिकन प्रत्येक आम मानिसको जीवनको एउटा हिस्साकै रुपमा चित्रण गर्नु ठीक हुन्छ ।

पुस्तकका कमजोर पक्ष पनि थोरबहुत नभएका होइनन् । बर्णविन्यास वा टाइपिङमा कतिपय ठाउँमा हतार गरेको देखिन्छ । कहिँकतै भाव अर्को लाग्ने वाक्यहरु पनि परेका छन् जसको सुधार आगामी संस्करणमा गर्नुपर्ने देखिन्छ । यद्यपि पुस्तकका राम्रा पक्षहरुका बिच ती नगन्य छन् । यस पुस्तक आख्यान वा गैरआख्यान दुवै भिन्न भिन्न बिषय रुचाउने दुवैले रुचाउन सक्ने पुस्तक बनेको छ । पुस्तक प्रदर्शनीको तेस्रो दिनसम्म आइपुग्दामै झण्डै पाँच सय प्रति बिक्री हुनुले पनि पाठकमा परेको यसको छापको केही हदसम्म प्रतिबिम्ब पाइन्छ । चन्द्रको जीवनी देशलाई माया गर्ने र देशको लागि केही गर्न खोज्ने सबैले एकपटक पढ्नुपर्ने पुस्तक हो । उनको जीवनले दिएको पाठ यो या त्यो भन्दा पनि चन्द्र गुरुङको जीवन आफैमा एउटा प्रेरणा र पाठ हो ।

- प्रदिप बस्याल ( लेखक, विभिन्न पत्रपत्रिका मा लेख लेख्नु को साथै प्रदिपपोष्ट मा ब्लग गर्छन् )

This Blog Originally Published on : pradeepbasyal.com.np

 

Information Sharing Copyright © 2011