Aakar

Aakar

Link to Aakar Post

कथा को खाका र अमुक पात्रहरु

Posted: 10 Jun 2011 10:59 PM PDT


मन पर्न नपर्नु एउटा कुरा ! अनि मन नपरेरै पनि मन परेको जस्तो गर्नु अर्को कुरा ! जिवनमा यस्ता केयौँ मोडहरु आउँदा रहेछन् जहाँ विभिन्न व्यक्तिहरुका रङ्ग, दोष, गुण, अवगुण देखिन पाइँदो रहेछ । यो अनलाइन दुनियाँ हो, एउटा ले ढाँटेपनि, अर्को ले पोल खोलिदिन्छ । मानविय स्वभाव बुझ्नु छ भने, अनलाइन मा छिरे हुन्छ ।

कहिलेकाँही जिवन मा भेटिएका/नभेटिएका, देखिएका/नदेखिएका सबै पात्रहरुलाई लिएर उपन्यास लेखौँ कि जस्तो लाग्छ । उसको जिवन, उसको भोगाइ, उसको यथार्थ, उसको निडरपन, सबै पात्र का आ-आफ्नै गुण छन् । अनि केही पात्र को नजर आफू भिलेन छु, अनि केही पात्र को नजरमा हिरो । हो, म विना यो कथा अघि बढ्न सक्दैन । यसलाई बताउने हो भने म सुत्रधार बन्नै पर्ने हुन्छ । म यो कथा को प्रमुख पात्र होइन तर आपसमा यी कथाव्यथाहरु यसरी जेलिएकाछन् कि ती सबै कुराहरु को म साक्षी रहेको छु ।

मैले मेरा कथाका केही पात्रहरु को जिवनलाई नजिकबाट नियाल्ने मौका पाएको छु ।  ती पात्रहरु सम्झीँदा कहिलेकाँही लाग्छ आफ्ना जिवन का केही क्षण व्यर्थमा खर्च गरेछु । कहिले काँहि एक किसिम को पश्चाताप पनि हुन्छ र खुशी पनि लाग्छ, मेरा पात्रहरुको कथा जान्न र बुझ्न पाएँ । अनि आफ्नै काँचो बुद्धि सम्झेर अहिले आफैँलाई हाँसो उठ्छ, सायद मैले त्यसो गर्नु हुँदैन थियो । तर जे हुनु भइसकेको छु, हिरो भए पनि भिलेन भएपनि यस कथा को सुत्रधार म नै हुँ । मेरा पात्रहरु कोही रसिला छन्, कोही हँसिला छन् । कही सम्भ्रान्त छन्, कोही वरिष्ठ छन् ! मेरा कथा का पात्रहरु यहिँ वरिपरि घुमिरहेका छन् । सम्झिनुस् यस्ता पात्रहरु दर्जन को सङ्ख्यामा छन् । उनीहरुको आ-आफ्नै कथा छन् । अनि उनीहरु आपस मा जेलिएका छन्, म मार्फत नै । लहरो तान्दा पहरो गर्जन्छ भन्छन् ठिक त्यस्तै स्थिति छ । मेरा पात्रहरु गुमनाम छैनन् ।

कथा को खाका :

एक जना पात्र छिन्, उनी प्रिय छिन्, नाम पात्र नम्बर १ । ती पात्र नै मेरो जिवन सँग पहिलो पटक जोडिन आइपुगिन र अहिलेसम्म पनि सँगै छिन् । सायद मैले उनीजस्तो पात्र अब भेट्टाउने छैन, उनको फोटोकपी गर्न मिल्ने भए, म उक्त पात्र को फोटोकपी गर्ने थिँए । मलाई त्यही पा्त्र जस्तो अर्को पात्र चाहिएको छ । ३-४ दिन अघि को भेटमा केही महशुस भए झैँ भयो, तर समय घर्किसकेको थियो । तर पनि पा्त्र नम्बर १ सँधै प्रिय हुनेछिन् मेरो सम्झनामा । करिब ६ वर्ष देखि सँगै रहेको यो पात्रबारे अरु पात्रलाई खासै थाहा छैन, तर पनि मेरो मानसपटल भरि यो पात्रलाई विस्थापित गर्ने अर्को पात्र आजसम्म भेटेको छैन । मैले यही पात्रको बारेमा धेरै पहिले नै २-३ वटा ब्लग लेखिसकेकोछु । पात्र नम्बर १ को जिवन आफैँ मा हिन्दी फिल्म को कथा भन्दा कम छैन । पात्र नम्बर १ को फ्ल्यासब्याक पछि लेखौँला, अहिलेलाई आफू सम्म जोडिएको कुरा मात्रै जोड्दैछु । अन्य पात्रलाई,  यस पात्रको नाम समेत थाहा छैन र उक्त पात्रलाई फेसबुकट्विटर मा खोजेर भेटिँदैन । सुत्रधार पात्र नम्बर १ लाई कहिले भुल्ने छैन ।

अब कुरा गरौँ २ नम्बर पात्र को बारेमा । उक्त पात्रलाई अहिलेसम्म प्रत्यक्ष रुपमा भेटेको छैन तर लाग्छ हामी स्कुल सँगै गएका थियौँ । हामी आपसमा धेरै जिस्किन्छौँ, कुरा गर्छौँ, कुनै पनि कुरा मा छलफल गर्छौँ, एउटा निकाश निकाल्ने प्रयत्न गर्छौँ । जब जब पात्र नम्बर २ को नजिक पुगेँ, त्यहाँ अन्य ३ र ४ नम्बर पात्र पनि सँगै आइपुगे । म जति जति पात्र नम्बर २ को नजिक पुग्दै थिँए, त्यति त्यति ३ र ४ नम्बर का पात्रहरु भड्किँदै गएका थिए । ३ र ४ नम्बर पात्र पेशाले पत्रकार हुन् र मैले अहिलेसम्म प्रत्यक्ष भेटेको छैन र अहिले सम्म बोलिएको पनि छैन, झै-झगडा भएको पनि छैन । पात्र नम्बर २ मेरो एकदमै असल र घनिष्ठ मित्र हो तर मलाई थाहा छैन ३ र ४ नम्बर का पात्रलाई के भनौँ, कारण अहिलेसम्म  उनीहरुको संगत गरेको छैन र उनीहरुको म प्रति को दृष्टिकोण मलाई थाहा छैन । तर जति मैले थाहा पाएको छु, कथा लेख्न काफी छ । ३ र ४ नम्बर पात्र प्राय सबैले चिनेका छन् फरक यत्ति हो यहाँ नाम उल्लेख गर्न सक्दिन । पात्र नम्बर २ पनि प्रिय छिन् र धेरै कुरा उनलाई थाहा छ । ती ३ र ४ नम्बर को पात्रको सोचाइ देखेर उनीहरुमाथि दया जागेर आउँछ । उनीहरुले विनाअर्थमा २ नम्बर सँग को सम्बन्धलाई धमिल्याए ।

अब पाचौँ नम्बर को कुरा गरौँ । पाँचौ नम्बर को पात्र पनि कुनै समय घनिष्ठ थिइन् । कारण उनीसँग अर्को ६ नम्बर को पात्र जोडिएर आइपुगेको थियो । ६ नम्बर को पात्र आफूलाई वरिष्ठ पत्रकार भन्न रुचाउँछ । ५ नम्बर को पात्रले त्यो ६ नम्बर को पात्रबाट धोका पाएको गुनासो गर्थिन् । सायद सुत्रधार को मन यही कुराले छोयो र छोटो समयमै ५ नम्बर सँग नजिक भयो । तर जब दिन बित्दै गयो, ५ नम्बर को व्यवहार पाच्य हुन छोड्यो । ५ नम्बर पात्र का बहुरुप देख्न थालियो, जुन आफूलाई पाच्य भएन । ५ नम्बर तिर ढल्किन ढल्किन खोजिसकेको सुत्रधार को मन सम्हालियो । त्यही ५ नम्बर सँग २ वर्ष भीत्र जोडिएर अन्य ४ पात्रहरु आए । मानौँ ति पात्रहरु ७,८,९ र १० थिए । जब ५ नम्बर पात्र आफूले भनेको र सोचेको भन्दा धेरै फरक पाइयो, तब ५ नम्बर सँग सम्बन्ध तोड्न धेरै बाहनावाजी गरियो ।

६ नम्बर को वरिष्ठ पत्रकार फेरि चम्कियो कारण मेरो ११ नम्बर को पात्र माथि फेरि उसले आफ्नो नजर घुमाइरहेको थियो । ११ नम्बर को पात्र बाट फेरि पनि ६ नम्बर को पात्रको बारेमा जानकारी पाउने मौका मिल्यो । हुन त ५ नम्बर को पात्र ले २ वर्ष अगाडि नै ६ नम्बर को पात्र को बारेमा सचेत गराएको थियो । ७, ८ नम्बर का पात्रहरुलाई प्रत्यक्ष भेटेको छैन तर उनीहरुका बारेका केही तथ्यहरु भने छन्  र उनीहरु प्रति मेरो कुनै गुनासो छैन । ९ र १० मा आउने पात्रहरुलाई देखेको र भेटेको छु । ९ नम्बर को पात्र देख्दा टिठ लागेर आउँछ, किनकी उसले मलाई आफ्नो शत्रु झैँ ठान्छ । सायद पात्र ५ र उ बिच को धेरै कुरा थाहा पाएका कारण उ सुत्रधारलाई राम्रो मान्दैन । तर केही छैन, कथा पछि नै लेखिने हो, अहिले हैन । अनि १० नम्बरलाई फेरि पनि ५ नम्बर ले धोका दिएको कुरा सुन्छु । यौनसम्बन्धका कुरालाई लिएर १० नम्बरलाई ५ ले धोका दिएको हो रे ! कथामा रोमान्स, थ्रिलर, सेक्स, लभ सबै थियो ।

११ नम्बर पात्रलाई पनि धेरै थाहा छ । अनि १, २, ५ र ६ नम्बर को पात्र को बारेमा भर्खरै पनि ११ नम्बरपात्रलाई जानकारी गराएको छु । ११ नम्बर को पात्र को पनि आफ्नै कथा र व्यथा छ । मलाई ५ नम्बर को पात्र को बारेमा धेरै कुरा गर्न मन लाग्दैन तर त्यही ५ नम्बर का कारण धेरै उपकथाहरु जन्मिएकाछन् ।

अनि यहाँ अन्य अप्रत्यक्ष पात्रहरु पनि छन् र उनीहरुलाई अहिले गौण नै राखिएको छ, कारण ती पात्रहरु कुनै उपकथा मा आएर जोडिनेछन् । र ती उपकथा मा आउने पात्रहरु प्रति कुनै गुनासो छैन । किनकी उनीहरु कथामा जोडिन आइपुगेका पात्रहरु मात्र हुन् र उनीहरुको म प्रतिको दृष्टिकोण थाहा छैन ।

सबै पात्रहरुको फ्ल्यासव्याक मा पालै पालो पुगेर, सुत्रधार सम्म आएर कथा टुंगिन्छ । त्यसपछि ती पात्रहरुको आपसमा जेलिएको जालो को बारेमा कथा अघि बढ्छ । अनि थाहा हुन्छ, इन्टेनेटले मेरा पात्रहरुलाई कसरी दास बनाएको छ, मेरा पात्रहरु कस्तो किसिम को देखावटि कुरा गर्छन्, खासमा ती पात्रहरु कस्ता छन्, यो सुत्रधार कस्तो छ ।

पुनश्च: मेरा कथा का पात्रहरु को कथा र उपकथा सुत्रधार ले क्रमश बताउँदै जानेछ, तब तपाईहरुले यो कथा बुझ्न सक्नुहुनेछ । अनि यसरी एउटा कथा को 'खाका' तयार भयो !

 

Information Sharing Copyright © 2011